गणतन्त्रविरोधी गतिविधि सबै मिलेर अस्वीकार गरौंः सभामुख

काठमाण्डु टुडे २०८२ जेठ १५ गते ७:३२ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा बिहीबार देश–विदेशमा रहेका नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा शुभकामना व्यक्त घिमिरेले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित हुन नहुनेमा जोड दिए ।
गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्नेमा उनले जोड दिए ।
सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई शहीदहरूको अपमान पनि भएको बताए । आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्नेमा घिमिरेले जोड दिए ।
‘गणतन्त्र दिवसमा सबै नेपालीहरूले गणतन्त्रको रक्षा, प्रवर्द्धन र सुदृढीकरणमा समर्पित भएर राष्ट्रलाई स्थायित्व, विकास र समृद्धिको दिशामा सफलीभूत गराउने सङ्कल्प लिन जरुरी छ’, उनले भनेका छन्, ‘देश गणतन्त्रमा प्रवेश गरेसँगै राजनीतिक संरचना, शासन प्रणाली र नागरिक अधिकारको परिभाषा नै परिवर्तन भएको छ । यो ऐतिहासिक परिवर्तन केवल राजतन्त्रको अन्त्य मात्र थिएन नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र जनआकाङ्क्षाको औपचारिक जित पनि थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us