
काठमाण्डू, १२ जेठ- नेपालमा पछिल्लो समय विभिन्न मौसमी प्रणालीहरूको मिश्रित प्रभाव देखिएको छ ।
हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायु सक्रिय रहेका छन् भने बंगालको खाडी र अरब सागरबाट प्रवेश गरेको आर्द्र हावाको आंशिक प्रभावसमेत परेको छ ।
सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईको झापा र पहाडी क्षेत्र इलाममा केही समय वर्षा भयो ।
झापाको शनिश्चरे र इलामको बरफल्याङ क्षेत्रमा एक घन्टाको अन्तरालमा ५ मिलिमिटर वर्षा मापन गरिएको छ ।
त्यस्तै, ललितपुरको टिकाथली, कास्कीको ज्यामिरेबारी र सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भयो । कैलालीको धनगढीमा एक घन्टामा ११.६ मिलिमिटर, कञ्चनपुरको दोधारामा १०.२ मिलिमिटर र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।
दिउँसोको लागि मौसम विभागले दिएको पूर्वानुमान अनुसार कोशी, मधेस र बागमती प्रदेशसँगै देशका मध्य र पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ । अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने छ ।
साथै पहाडी क्षेत्रहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम मात्रामा वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।