दुर्गा प्रसाईं भन्छन्ः तीनकुनेमा रवीन्द्र मिश्र र धवलशमशेर राणाले पहिला प्रहरीमाथि आक्रमण गरेका थिए

काठमाण्डु टुडे २०८२ जेठ ११ गते २२:०५ मा प्रकाशित

काठमाण्डू, ११ जेठ- विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत १५ चैतमा तीनकुने हिंसाका क्रममा राप्रपाका नेता कार्यकर्ताले कार्यक्रम सुरु हुनुअघि नै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको खुलासा गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानका क्रममा प्रसाईंले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जवरा र सन्तोष राजावादीसहित राप्रपा कार्यकर्ताले पहिल्यै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको बताए ।

प्रदर्शनकारीले सुरुमै प्रहरीलाई लक्षित गरी आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको प्रसाईंको भनाइ थियो । प्रसाईंले कार्यक्रमस्थलको ३ सय मिटर टाढाबाट राप्रपा समूहले प्रहरीमाथि ढुंगा प्रहार गरेको उल्लेख गरे ।

चैत १५ मा संसद भवन कब्जा गर्नुपर्छ भन्ने भनाइका कारण प्रहरीले बल प्रयोगको रणनीति अख्तियार गरेको उनले बताएका छन् । कार्यक्रम सुरु हुनुभन्दा ४५ मिनेट अगाडि नै प्रहरीमाथि ढुंगा प्रहार भएकाले प्रहरीले अश्रुग्यास र गोली प्रहार गरेको उनले जनाए ।

आफू कार्यक्रमस्थल आउने बेलासम्म कार्यक्रम स्थल महाभारतको कुरुक्षेत्र जस्तै रणभूमीम परिणत भएका कारण आवेशमा आएर प्रहरीको भिडमा गाडी चलाएको बताए ।
तीनकुने प्रदर्शनको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरेको र त्यसमा कमल थापा, पशुपतिशमशेर जबरा, जगमान गुरुङ, अस्मिता भण्डारी, रमा सिंहलगायत संलग्न रहेको प्रसाईंले बताएका छन् ।

नेताका घरमा आगो लगाउन भिडलाई उक्साउने काम पनि राप्रपा नेताहरुले गरेको प्रसाईंले उल्लेख गरेका छन् ।

राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको ज्यान जानुका साथै व्यक्तिका घर, पार्टी कार्यालय, भाटभटेनी सुपरमार्केट, जडिबुटीस्थित औषधि कारखाना तथा दर्जनौं निजी र सरकारी गाडीमा आगजनी र लुटपाट गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us