कैलाली भन्सार प्रमुखमाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको कैलाली प्रहरीले जानकारी दिएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी प्राप्त भएको जानकारी दिएका छन । उजुरीमा कसैको पनि नाम उल्लेख छैन ।

फुटेजमा देखिएका व्यक्तिको पहिचान गरेर कारबाही गरिदिन भनिएको उनले जानकारी दिएका छन । शनिबार राति १० बजेतिर धनगढी उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका नगर प्रहरीले भन्सार अधिकृतमाथि लछारपछार गर्दै कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । तर, नगर प्रहरी निरीक्षक धामीले भने कुटपिट नगरेको दाबी गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us