
काठमाण्डू, ११ जेठ- सरकार नेतृत्वकर्ता एमालेले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आइतबार अपराह्न २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएका हुन् ।
पोखरामा जारी युवासंघ महाधिवेशनमा भएको विवाद, १५ जेठमा प्रतिनिधिसभामा प्रस्तुत गरिने बजेट र गृहमन्त्री रमेश लेखक मानव तस्करीमा मुछिएको विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् ।
अध्यक्ष केपी ओलीले वर्तमान युवासंघ अध्यक्ष क्षितिज थेबेलाई पुनः दोहोर्याउन चाहेका छन् । शुक्रबार महाधिवेशन उदघाटन गर्दा ओलीले थेबेको नाम नलिए पनि सर्वसम्मत नेतृत्व चुन्न प्रतिनिधिलाई निर्देशन दिएका थिए ।
ओलीको थेबेलाई दोहोर्याउने चाहना बुझेर अध्यक्षका अरु आकांक्षी पछि हटे पनि महासचिव सुमन पुरीले भने ओलीको निर्देशन मानेनन् । उनले निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन् ।
सोही अडानका बीच बन्दशत्र हलमा गएराति थेबे र पुरी समूह एकअर्काविरुद्ध नाराबाजीमा उत्रिएको थियो ।
पयर्टक भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ५० लाख रुपैयाँ सेन्ट्रल कलेक्सन गरेर मानिसहरुलाई विदेश पठाउने गरिएको प्रकरणको खुलासा भएसँगै गृहमन्त्री लेखक त्यसमा मुछिएका छन् ।
काँग्रेसभित्रैबाट र विपक्षीहरुले लेखकले पदबाट राजीनामा दिनुपर्ने र सो प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री केपी ओली भने त्यसबारे मौन छन् ।