
तनहुँ ११ जेठ- तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलमा शनिबार राति भएको जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।
अरु दुई जना घाइते छन् । प्रहरीका अनुसार ग २ च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा राति करिब ११ बजेतिर पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । जिपमा पाँच जना सवार थिए ।
दुर्घटनामा परी व्यास नगरपालिका–५ का ३५ वर्षीय प्रवीण थापामगर, २२ वर्षीय कुमार थापामगर र २० वर्षीय कुशल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरूको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको हो ।
घटनामा घाइते भएका दुई जनामध्ये एकको अवस्था गम्भीर रहेकाले पोखरा रिफर गर्ने तयारी गरिएको छ । चालक भने सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहकार्यमा उद्दार कार्य सम्पन्न गरिएको थियो ।