कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन्ः झलनाथ खनाल

काठमाण्डु टुडे २०८२ जेठ १० गते १५:२८ मा प्रकाशित

काठमाण्डू, १० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्ने दाबी गरेका छन । नेता खनालले सबैभन्दा ठुला पार्टी भनिएका कांग्रेस र एमाले समेत आफ्नो पार्टीको स्वार्थ पुरा गर्न भ्रष्टाचार मा चुर्लुम्म फसेको पनि बताएका छन ।

आज (शनिबार) नेकपा (एकीकृत समाजवादी) काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ८ द्वारा आयोजित पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन ।

उनले विगतका गल्तीलाई सच्याउँदै र अनुभवबाट सिक्दै एक्लै चुनाव लड्ने गरी कार्यकर्तालाई निर्देशन समेत दिएका छन । नेता खनालले एकीकृत समाजवादी कांग्रेस र माओवादीसँग सत्ताका लागि मिल्न गएका कारण राष्ट्रिय पार्टी हुन नसकेको पनि बताएका छन ।

उनले भने, ‘हाम्रो पार्टी राष्ट्रिय पार्टी नहुनुमा काङ्ग्रेस र माओवादीसँग सत्ताको लागि मिल्न गएको गएको र विगतको चुनावमा हाम्रो विचार, सिद्धान्त र लक्ष्यलाई जनतासँग प्रस्ट पार्न नसकेकोले हो ।’

उनले पार्टी नेतृत्वले गरेको गलत निर्णयका कारणले पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसकेको बताए । नेता खनालले नेकपा एमालेलाई दक्षिणपन्थीहरूले नेतृत्व गरिरहेका कारण त्यो पार्टी अधोगति र पतनको बाटोतिर हिँडिरहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us