
काठमाण्डू, १० जेठ– गृहमन्त्री रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन । आज (शनिबार) जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरेको भन्दै गृहमन्त्री लेखकले यो सहि कुरा भएको प्रतिक्रिया दिएका छन । कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरू गम्भीर रहेको र लागिपर्ने पनि बताएका छन ।
अहिले आफूहरू संयुक्त सरकारमा रहेको बताउँदै दुई प्रतिस्पर्धी पार्टीहरू बिचको संयुक्त सरकार बनाउन केही जटिलताहरू रहेको बताएका छन । गृहमन्त्री लेखकले भने, ‘मधेस प्रदेशको सरकार पनि हामीले पालो पालो नेतृत्व गर्ने भनेर समझदारी गरेका छौँ । मधेस प्रदेशको सरकार पनि पालो पालो परिवर्तन गर्ने कुरा छ, परिवर्तन हुन्छ । लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा छ ।
साथीहरूले सही कुरा भन्नुभएको छ । यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ । यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौँ । हामी अहिले संयुक्त सरकारमा छौँ । नेपाली कांग्रेस र एमालेको सरकार छ ।
सरकार सञ्चालनमा एकै पार्टीको सरकार हुँदा पनि केही जटिलता हुन्छन् । दुई वटा पार्टी र दुई वटामा पनि प्रतिस्पर्धी पार्टीका बिचमा सरकार संयुक्त रूपमा सञ्चालन गर्ने कुरामा केही समस्या, जटिलताहरू उत्पन्न हुन्छन् ।
त्यसलाई तपाईँहरूले गम्भीरतापूर्वक हेर्नुहोला । त्यसैले हामीले संघमा र प्रदेशमा पनि जिल्लासम्म संयन्त्र बनाएका छौँ । दुई वटै पार्टीका संयुक्त संयन्त्र बनाएका छौँ ।’पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठुलो परिवर्तन भएको उनको दाबी थियो ।