रास्वपा नेता यज्ञमणिको सुझाव स् सभापति र महामन्त्रीको पदपूर्ति गरौं

काठमाण्डु टुडे २०८२ जेठ १० गते १३:४० मा प्रकाशित

काठमाण्डू, १० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले पार्टी सभापतिलगायत रिक्त पदपूर्ति गर्न प्रस्ताव गरेका छन । रास्वपा नेता न्यौपानेले सर्वोच्च अदालतको आदेश अनुसार अब पार्टी सभापति रवि लामिछाने अब केही समय बाहिर आउने सम्भावना नहरेको भन्दै उनको ठाउँमा नयाँ व्यक्तिलाई सभापति बनाउन सुझाव दिएका छन ।

मुख्य पदहरु रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसिने भन्दै उनले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न सुझाव दिएका हुन । पार्टीका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरुको पनि पूर्ति गर्न भनेका छन् ।

यसका साथै संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, शुभेच्छुक संगठन सबै निकायमा अभिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने, ०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउन पनि उनले माग गरेका छन् ।

न्यौपानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गर्ने र त्यसका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्नु पर्ने विषय पनि उठाएका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए । महाधिवेशन हुने भनेपछि महामन्त्रीमा आकांक्षी भएर उनले राजीनामा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us