
काठमाण्डू, १० जेठ- लगातारको वर्षासँगै आएको बाढीले सडक भत्काएपछि हेटौंडालाई काठमाण्डूसँग जोड्ने कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुल छेउमा ग्राभेल भरिएको भाग बगाएपछि उक्त सडक गएरातिदेखि बन्द भएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले सडक अवरुद्ध भएका कारण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जानकारी दिए ।
उनका अनुसार बाढीले सडकको भौतिक संरचना प्रभावित बनाएको हुँदा तत्काल सवारी सञ्चालन सम्भव छैन ।
सडक खुलाउने प्रयास भइरहेको जनाउँदै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे ।
सडक मर्मतको अवस्था र मौसमको स्थितिमा भर पर्ने भएकाले अवरुद्ध सडक खुल्न समय लाग्न सक्ने बताइएको छ ।