नेपाल बैंकमा चोरी, लुटेराले बन्दुक पनि लिएर गए

काठमाण्डु टुडे २०८२ जेठ ९ गते २३:०६ मा प्रकाशित

सप्तरी, ९ जेठ- सप्तरीको खडक नगरपालिका–७, कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडको शाखामा गएराति चोरी भएको छ ।

राति १२:२० बजे सुरक्षा गार्डहरू सुतिरहेको समयमा चोरले उनीहरूको कोठामै पसी विभिन्न सामग्री चोरी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खडक नगरपालिका–७ का ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरूप नगरपालिका–९ का ४४ वर्षीय पर्शुराम चौधरी ड्युटीमा रहेका बेला उनीहरूकै सुत्ने कोठाबाट चोरी भएको हो। घटनाका बेला दुबै गार्ड कोठामै सुतेका थिए ।

सुरक्षागार्डहरूले दिएको जानकारीअनुसार दराजमा राखिएको १२ बोरको एकनाले बन्दुक, त्यसमा लाग्ने २० राउन्ड गोली, दुईवटा मोबाइल फोन र एक थान डिजिटल तराजु चोरी भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली राति साढे ३ बजे घटनास्थलतर्फ खटिएको थियो । यता, चोरको पहिचान खुल्ने वित्तिकै जिल्लाका अन्य प्रहरी कार्यालयहरू र छिमेकी जिल्लाका सुरक्षा निकायलाई समेत सतर्क गराइएको थियो ।

यसै क्रममा, सिरहा प्रहरीले बिहान ३:४५ बजे खडक नगरपालिका–६ बिरपुरका २० वर्षीय अपसाद अन्सारीलाई लहान नगरपालिका–३, हस्पिटल चोकबाट नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछमा उनले बैंक चोरीमा संलग्न रहेको स्वीकारेका छन् ।

प्रहरीका अनुसार अन्सारीको साथबाट दुईवटा स्क्यानर, दुईवटा ल्यापटप, दुई थान खुकुरी, पाँच थान मोबाइल, दुई थान घडी, एक थान मिनी स्पिकर, एक थान डिजिटल तराजु, विभिन्न सिमकार्डहरू र उनी चढेको स ६ प ५४७३ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । चोरी गरिएको बन्दुक भने घटनास्थलदेखि करिब ५०० मिटर टाढा झाडीमा लुकाइएको अवस्थामा फेला परेको हो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोली परिचालित भइसकेको प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us