
काठमाण्डू, ९ जेठ– कांग्रेस महामन्त्री गगन थापाले नेपालमा चमत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए ।
उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्य रूपमा भएको बताए ।
प्रजातन्त्रको सबभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकंक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताए ।
महामन्त्री थापाले भने, ‘प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो। त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौं । प्रजातन्त्रको सबभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकांक्षा पनि जगायौँ । त्यो २०—२५ वर्ष पछाडि अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोड्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्दछ । जसले गएको २०—२५ वर्षमा चमत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ। अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ । आम्दानी बढाउन अब स्वाभाविक चाहन्छ ।’
महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठीक ढंगबाट अघि बढ्न नसकेको बताए ।
—न्युज एजेन्सी नेपाल