शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०८२ जेठ ९ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, ९ जेठ– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा मुलुकको पहिलो सर्त भएको भन्दै कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन ।

आज (शुक्रबार) जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन । शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने पनि बताएका छन ।

सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न उनले निर्देशन दिएका हुन । सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै मन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मिहिनेतका साथ लाग्न आग्रह गरेका छन ।

नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनुपर्ने पनि गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us