पूर्वी र मध्य क्षेत्रमा रातिदेखि नै वर्षा, यी क्षेत्रमा दिनभर पानी पर्ने

काठमाण्डु टुडे २०८२ जेठ ९ गते ६:२३ मा प्रकाशित

काठमाण्डू, ९ जेठ- देशका पूर्वी र मध्य भूभागका विभिन्न जिल्लामा रातिदेखि नै वर्षा भइरहेको छ।

काठमाण्डू, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, पाल्पा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, गोरखा र तनहुँ लगायत जिल्लामा रातिदेखि नै पानी परेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसमी प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हिमपात हुने सम्भावनासमेत मौसमविदले जनाएको छ ।
पछिल्लो समय पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएका जलवाष्पयुक्त हावाले नेपालको मौसमलाई प्रभावित बनाइरहेको छ ।

यही कारणले देशका धेरै भागमा लगातारजसो वर्षा हुने गरेको छ ।
यस्तो अवस्था अझ केही दिन रहने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us