
काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा राखेको हो । लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।
त्यस्तै, सरकारी वकिलको बहस पनि सकिएको छ । अब जाहेरवालाको तर्फबाट बहस बाँकी छ । लगत्तै जवाफी बहसपछि यो रिटमा आदेश आउनेछ ।
यसअघि मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ भएको थिएन ।
आज बिहीबार भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् । लामिछानेतर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए । लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।