दुर्गा प्रसाईंसहित ५३ जनालाई दुई दिन म्याद थप

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्म घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत १५ चैतमा काठमाण्डूको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाण्डूबाट भागेर भारत पुगेका थिए ।

पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाण्डू ल्याएको हो । प्रहरीले थपिएको यही अवधिभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदातलमा दर्ता गरिसक्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us