मासु पकाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, दुईजना घाइते

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १२:२६ मा प्रकाशित

हेटौंडा, ८ जेठ– मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलस्थित देवान बाबुको घरमा बुधबार साँझ आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने वीरगन्जका सलाउदिन देवानकी छोरी १३ वर्षीया असिया खातुन घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।

सोही घरमा बस्ने भारतको मोतिहारी जिल्लाको आदामपुरग्राम कलबारी मझौलिया बस्ने २५ वर्षीया अफ्रिदा खातुन पनि घाइते भएकी छन्। साँझ मासु पकाउँदा तेल भनेर झुक्किएर उनले तातो कराईमा डिजेल हालेपछि आगोलागी भएको खुलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन ।

घाइते दुवैलाई हेटौंडा अस्पताल पठाइएको उनले बताए । उक्त घरमा लागेको आगो केहीबेरमै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us