गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– काठमाण्डू महानगरपालिका– ८ गौशालामा आठ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटनामा परेका छन ।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिएका छन ।

दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको पनि उनले जानकारी दिए ।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र–२९०१९००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएको प्रहरीले जनाएको छ । साथै उक्त घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us