हुँदै नभएको लोडसेडिङ भयो भन्दै विदेशबाट फोन गरेर दुःख दिएः ऊर्जामन्त्री

काठमाण्डु टुडे २०८२ जेठ ७ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको भन्दै गुनासो व्यक्त गरेका छन ।

आज (बुधबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै खड्काले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम भइरहेको उनले बताएका छन । उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् ।

यसरी भ्रम फैल्याउने काम भएको छ, ‘पटक–पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’

विद्युत् अवरुद्ध हुँदा नेपाल विद्युत् प्राधिकरणले कारणसहित सूचना दिने गरेको खड्काले बताए । ‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ, ‘उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ ।’

मन्त्री खड्काले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको दाबी गरेका छन । ‘लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत् विच्छेद हुने अवस्था आजमात्रै होइन,’ उनले भने, ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत् गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला–ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ ।’

उनले कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष नरहेको जिकिर गरे । ‘अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ,’ उनले भने ।

नेपालमा विद्युत् उत्पादन बढिरहेको उनले बताए ।‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत् आयात गर्‍यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत् बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us