
काठमाण्डू, ७ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।
आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको उनले सचिवालय स्रोतले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरे ।
नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरिवेक्षक क्षमतामा जोड दिने बताए ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाई दिएका थिए ।