
चितवन, ७ जेठ– चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका अनुसार महतो मंगलबार साँझ करिब ६ बजेतिर साथीहरूका साथ रिसोर्ट पुगेका थिए ।
पौडी खेल्ने क्रममा लामो समयसम्म बाहिर नआएपछि महतोको खोजी गरिएको थियो । त्यस क्रममा उनी अचेत अवस्थामा भेटिए । साथीहरुले उद्धार गरी महतोलाई राति करिब १२ बजेतिर उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगेका थिए ।
तर, चिकित्सकले उनलाई तत्काल मृत घोषित गरेका थिए ।
यसैबीच प्रहरीले मृतकका ८ साथीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर–२२ का सुमन थापा, प्रवीण घिमिरे, दिपेश महत्तो र शुबु खत्री, भरतपुर–१३ का आदेश सुवेदी, भरतपुर–१४ का आशिष शर्मा, काठमाण्डू जोरपाटीका मेघलाल चुडाल र सुन्दरबजार–१ लमजुङका नारायण बस्नेत छन् ।
प्रहरीले मृत्युको कारणबारे छानबिन थालिएको जनाएको छ ।