विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १८:५५ मा प्रकाशित

काठमाण्डू, ६ जेठ- सरकारले अर्थविद एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्रबैंकको १८औं गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेल संयोजकत्को सिफारिस समितिले मंगलबारै पौडेलसहित नेपालराष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

दुई सत्तारुढ घटक काँग्रेस र एमालेबीचको रस्साकस्सीका कारण लामो समयदेखि राष्ट्रबैंक गभर्नरविहीन थियो ।

मंगलबार बिहान प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटवार्तामा पौडेललाई गभर्नर नियुक्त गर्न ओली सहमत भएका थिए ।

ओली र देउवाबीच सुरुमा राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति थियो । काँग्रेसले आफ्नो नाम गभर्नरमा अघि सारेपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

तर, गभर्नरको रेसमा रहेकी कायममुकायम गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि काँग्रेसले उनको विकल्पमा पौडेलको नाम अघि सारेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us