पृथ्वीनारायणसँग तुलना गर्दै मोहन बस्नेतले भनेः दुवै खुट्टामा रातो कोठी छ, जहाँ टेक्छु, त्यो मेरै हुन्छ

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १९:११ मा प्रकाशित

सिन्धुपाल्चोक, ५ जेठ– भ्रष्टाचार आरोपमा निलम्बित काँग्रेस सांसद मोहनबहादुर बस्नेतको सिन्धुपाल्चोकमा धुमधाम स्वागत भएको छ ।

बस्नेतविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

बस्नेतलाई गाडी र मोटरसाइकलमा सयौं काँग्रेस कार्यकर्ताले स्कर्टिङ गरे । उनका कार्यकर्ताले मोहन दाई हाईहाई भन्ने नारा लगाएका थिए । बस्नेत दलबलसहित लिसंखुपाखर गाउँपालिका–२ स्थित निगाले नारगाउँ खानेपानी उदघाटन कार्यक्रममा सहभागी भए । एमाले र माओवादी केन्द्रले भ्रष्टाचार आरोपी बस्नेतलाई कार्यक्रममा सहभागी नहुन विज्ञप्तिमार्फत चेतावनी दिएका थिए ।

कार्यक्रममा बस्नेतले सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य एवं माओवादी नेता माधव सापकोटाविरुद्ध आक्रोशित रुपमा प्रस्तुत भए । उनको सापकोटाले नै आफूविरुद्ध वक्तत्वबाजी गर्न लगाएको आरोप लगाए । सापकोटालाई उनले ‘लाहुरे’ को संज्ञा दिए । उनले माओवादीलाई आफू एक्लैले ठीक पार्ने जिकिर गरे ।

‘माओवादीका छाउराहरूले धेरै फुर्ती नलगाए हुन्छ । तीन बिसौलीका माओवादीका बोकाहरूलाई म आफैँ अघि बढेर ठीक पार्छु’, बस्नेतले भने ।

बस्नेतले पृथ्वीनारायण शाहसँग आफ्नो तुलना गरे । ‘पृथ्वीनारायण शाहको जस्तै मेरो पनि दुवै पैतालामा रातो कोठी छ । म जहाँ–जहाँ टेक्छु । त्यो सबै मेरै हुन्छ र सिन्धुपाल्चोकमा पनि भएको छ’ उनले भने ।

बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मा अहिले तीन पालिका जितेको माओवादीलाई आगामी निर्वाचनमा शून्यमा सीमित गरिदिने चेतावनी दिए । यस्तै सिन्धुपाल्चोकको नेता भनेकै आफूमात्र भएको र बाँकी सबै सकिएको उनको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us