गभर्नरमा कुरा नमिलेपछि रोकियो मन्त्रिपरिषद् बैठक, ओली र देउवा छलफलमा

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १८:३२ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– सत्तारुढ काँग्रेस र एमालेबीच नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा कुरा नमिलेपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक अधिकारीले सोमबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को नियमित बैठक स्थगन भएको पुष्टि गरे । काँग्रेस–एमालेबीचको विवादले लामो समयदेखि गर्भनर नियुक्त हुन सकेको छैन ।

यसैबीच मन्त्रिपरिषद् बैठक रोकेर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । ओलीले मन्त्रिपरिषद् रोकेर देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

काँग्रेसले यसअघि राष्ट्बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नरका रुपमा अघि सारेको थियो । तर, निमित्त भगर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि उनी रेसबाटै आउट भए ।

अधिकांश काँग्रेस नेताहरु ओलीको आडमा ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको आरोप लगाउँछन् । शनिबार बसेको काँग्रेस संसदीय दल बैठकमा धेरै सांसदले ओलीले गभर्नर नियुक्तिमा दोहोरो भूमिका खेलेको बताएका थिए ।

भट्टपछि काँग्रेसले गभर्नर सिफारिस समिति सदस्य रहेका अर्थविद् विश्व पौडेललाई गभर्नरमा सिफारिस गरेको छ । गभर्नरमा नाम सिफारिस हुनुअघि नै पौडेलले सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us