
विराटनगर, ५ भदौ– नेपाल प्रहरीका नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको गाडीले कोशी प्रदेशका सांसदहरु सवार गाडीलाई ठक्कर दिएको छ ।
डिएसपी खड्काले चलाएको बा५च३५३० नम्बरको निजी कारले बी–एई–१४०६ नम्बरको सांसदहरु सवार गाडीलाई सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ठक्कर दिएको हो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार सांसदहरु मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार गाडीलाई खड्का सवार गाडीले ठक्कर दिएको हो ।
जोशीले चारैजना सांसदलाई सामान्य चोट लागेको बताए । दुर्घटनामा सांसदहरु सवार गाडी क्षतविक्षत भएको छ ।
यसैबीच मोरङ प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।