
काठमाण्डू, ४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी हुन । सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर विषय भएको पनि बताएकी छन । उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् ।
‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ ।
न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’ गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले कैदीलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको पनि उनले बताएकी छन ।