
काठमाण्डू, ४ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको दाबी गरेका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले यस्तो बताएका हुन । उनले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको पनि बताएका छन ।
निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने कांग्रेस सांसद गौतमको तर्क छ । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन ।
न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्र गतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ ।
संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद् भए पनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको पनि उनले बताए ।