
काठमाण्डू, ३ जेठ– काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्वल नेपाली रहेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले जानकारी दिएका छन ।
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो । शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो ।
तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको हो । मृतक उज्वलको शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।