
काठमाण्डु, २१ भदौ– सबै सहकारीकर्मी र सरकार मिले मात्र सहकारीको विकास सम्भव रहेको सरोकारवालाले बताएका छन् ।
नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघद्धारा राष्ट्रिय सहकारी संघ लिमिटेडका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सरोकारवालाले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले राम्रा सहकारी हाम्रा र नराम्रा विभागको भन्ने धारणा त्याग्नुपर्ने बताउँदै विभाग र सहकारी संघ एकजुट भए सबै समस्या समाधान गर्न सहज हुने बताए ।
संघ र विभागबीचको सम्बन्ध नङ र मासुजस्तै रहेको भन्दै सरोकारवाला मिल्नुको विकल्प नभएको धारणा व्यक्त गरे । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका नवनिर्वाचित अध्यक्ष एवम् सभासद केशव वडालले सबै सहकारीसँग आवद्ध संघसंस्थाले आफ्नो उत्तरदायित्व बहन गर्न सक्नुपर्ने बताउदै सबै मिलेर सहकारीको समस्या समाधान गर्नुपर्ने उल्लेख गरे ।
उनले विगतलाई बिर्सेर संघ नयाँ ढंगबाट अघि बढ्न तयारी रहेको बताए । सबै सहकारीबारे नकरात्मक धारणा राख्न नहुने भन्दै उनले राम्रा सहकारीको प्रशंसा गर्न बिर्सन नहुने उल्लेखगरे ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष एवम् राष्ट्रिय सहकारी संघ लिमिटेडका नवनिर्वाचित संचालक सुरेन्द्र भण्डारीले नयाँ समितिले सहकारी अभियानलाई शसक्त ढंगले अघि बढाउनुपर्ने बताए ।