
काठमाण्डू, १४ वैशाख– वर्तमान सत्ता गठबन्धनलाई लिएर बजारमा विभिन्न प्रश्न उठीरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका आशङ्का र गलत प्रचारलाई कामबाटै जवाफ दिन सहमत भएका छन् ।
दुवै दलका नेताहरूका अनुसार गठबन्धन र सरकारबारे फैलाइएको भ्रम निस्तेज पार्ने, गभर्नर नियुक्ति जतिसक्दो चाँडो गर्ने, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया समयमै टुङ्ग्याउने र शिक्षक आन्दोलन लगायतमा भइरहेका प्रगति तथा अवरोधबारे छलफल भएको थियो । सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबिच शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा बढी छलफल भएको बालुवाटर निकट उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा मुख्यगरी चार विषयमा चर्चा भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
भेटवार्तामा ओली र देउवाका अलावा कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलसमेत सहभागी थिए । त्यसक्रममा सरकारबारे बढ्दो आशङ्का कम गर्न दुवै पक्षले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरू सहमत भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । शीर्ष नेताबिच विशेषगरी राजनीतिक वृत्तमा फैलाइएका हल्लाका सम्बन्धमा छलफल हुनका साथै तत्काल सरकारले गर्नुपर्ने कामबारे कुराकानी भएको मन्त्री पौडेल र लेखकले बताएका छन् ।
‘खासगरी समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित थियो । पछिल्लो पटक सरकार ढल्छ कि ढल्छ भनेर भएका प्रचार र छरिएका भ्रममा सत्यता छैन र यसलाई चिर्नेगरी दुई नेताबिच छलफल भएको हो’, पौडेलले भने, ‘गठबन्धनमा कुनै समस्या छैन ।’ त्यस्तै गृहमन्त्री लेखकले सरकारबारे कन्फ्युजन क्रियट गरिएकाले त्यसलाई चिर्दै अघि बढ्न र सहमतिहरू कार्यान्वयन तथा समस्या सम्बोधन गर्न दुवै नेता सहमत रहेको बताए ।
लेखकले फैलाइएका भ्रमलाई सरकारले काममार्फत नै जवाफ दिनुपर्नेमा दुवै नेता सहमत भएको प्रस्ट पारे । कांग्रेस नेतासमेत रहेका गृहमन्त्री लेखकले गभर्नरको सेलेक्सन कमिटीका सदस्य पूर्वगभर्नरले राजीनामा दिएको अवस्थामा त्यो कमिटीलाई पूर्णता दिएर प्रक्रिया अघि बढाउन दुवै नेता सहमत भएको प्रस्ठ पारे ।
शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सिफारिस कमिटीको सिफारिसका आधारमा अघि बढ्न र शिक्षकको आन्दोलनबारे गम्भीरतापूर्वक छलफल भइरहेकाले यो समस्या अब धेरै लम्ब्याउन नहुने पक्षमा प्रधानमन्त्री र सभापति देउवा एकमत रहेको समेत बताए । कांग्रेस सभापति शेरबहादुर देउवा वैशाख ७ मा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएसँगै सरकार ढल्ने चर्चा व्यापक भएको थियो । यही चर्चाका बिच देउवा वैशाख १२ गते बैंककबाट फर्किएका थिए ।
देउवा फर्किएको भोलिपल्ट ओली र देउवाबिच भेटवार्ता भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीले देउवालाई बैंककमै रहेका बेला फोन गरेर बजारमा चलेका हल्लाबारे चासो राखेका थिए । शनिबार देउवासँगको भेटपछि आइतबार दिउँसो मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढल्यो–ढल्यो भन्नेहरूलाई देउवाले चिसो पानी टाउकाबाट खन्याइदिएको बताएका थिए । ‘