गगनलाई ओलीको चुनौतीः बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न सकिन्छ ?

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक दल कांग्रेसकै महामन्त्री गगन थापालाई आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच रहेको भनेर लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए । २ वैशाखमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको दाबी गरेका थिए ।

आज (आइतबार) मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री थापालाई यस्तो चुनौती दिएका हुन । प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन ।

हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं, ‘आजकल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य राखेको छ ।

हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’ कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ । पार्टीभित्रको राजनीतिक हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव समेत दिएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us