
काठमाण्डु – नेपाल टेलिकमले सहरी क्षेत्रका ग्राहकलाई लक्षित गरी उच्च क्षमताको ब्रोडब्याण्ड सेवा सुरु गरेको छ ।
फाइबर टु दि होम (एफटिटिएस) नाम दिइएको सेवा पहिलो चरणमा काठमाण्डुको दरबारमार्ग, कमलादी, काठमाण्डु प्लाजा र जमल क्षेत्रमा सञ्चालन गरिने टेलिकमले जनाएको छ ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यका अनुसार दोस्रो चरणमा उपत्यकाका विभिन्न ३१ ठाउँमा एफटिटिएस सेवा विस्तार गरिनेछ ।
टेलिकमले परम्परागत तामाको तारको सट्टा ग्राहकहरुको घर – कार्यालयसम्म अप्टिकल फाइबर तानेर सेवा दिने भन्दै एफटिटिएस सेवा व्यवसायिक ग्राहकहरुका लागि प्रभावकारी हुने बताएको छ ।
एफटिटिएस सेवाको सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले शुक्रबार काठमाडौमा शुभारम्भ गर्नुभयो । उहाँले टेलिकमले सस्तो दरमा गुणस्तरीय सेवा दिएर ग्राहकहरुको मन जित्न सक्नुपर्ने बताए ।
टेलिकमले पोखरा, वीरगञ्ज, विराटनगर, बुटवल लगायतका सहरी क्षेत्रमा पनि सेवा विस्तार गरिने बताएको छ । फाइबर सेवामा भ्वाइस सेवाका अतिरिक्त डाटा सेवा र अन्य भ्यालु एडेड सेवा समेत उपलब्ध हुने टेलिकमले जनाएको छ ।