इलाम, २० भदौ– जिल्ला अदालत इलामले हत्यामा संलग्न एक युवकलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले एकतप्पा–१ का यामबहादुर राईलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । उनीमाथि गोदक–५ निवासी १९ वर्षीय टासी लामाको हत्यामा संलग्न रहेको आरोप छ ।
आर्थिक लेनदेनका विषयमा विवाद हुँदा गत जेठ २७ गते राति राईले लामाको हत्या गरेका थिए । राईलाई मुलुकी ऐनअन्तर्गत ज्यानसम्बन्धी महलबमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका तहसिलदार अर्जुन श्रेष्ठले जानकारी दिए ।