
काठमाण्डू, २१ चैत- प्रधानमन्त्री केपी ओलीले पृथ्वीमा मानिसहरु आफैंसँग त्रसित हुनुपर्ने अवस्था आएको बताएका छन् ।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मानव जातिबाट विनाश र भयानक क्षति हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था उत्पन्न भएको बताएका हुन् ।
जलवायु परिवर्तन, बिग्रंदो ईको सिस्टम, मानवजातिको विनास, कमजोर राष्ट्रहरूको अस्तित्वमा उठेका गम्भीर प्रश्न लगायतका विषयमा गम्भीर हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।
आफू नेपालको प्रधानमन्त्रीका हैसियतमा नभई पृथ्वीको एक नागरिकको रुपमा बोलेको भन्दै ओलीले जलवायु संकट, असमानता, गरिबी र तीनका प्रभावहरू सीमानाभित्र नरोकिने उल्लेख गरे ।
’हामी समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रामा हिँडेका छौं । तर यस यात्राको अन्तिम गन्तव्य ‘समृद्ध विश्व, सुखी मानवजाति’ हो’, उनले भने ।
आफू देशबाहिर निस्कएका बेला केवल कूटनीतिक भेटघाटमा मात्र सीमित रहन नचाहने भन्दै उनले मौका मिलाएर विश्वविद्यालयहरूमा पुग्ने गरेको ओलीले बताए ।
ओलीले आफूले जहिले पनि सबै जना सुखी र निरोगी रहून् तथा शुभ कुरा हेर्न पाऊन् तथा कुनै पनि व्यक्ति कहिल्यै दुःखको भागी नबनोस् भन्ने कामना गर्ने गरेको दाबी गरे ।
सम्पूर्ण मानव जाति आज सुरक्षित होस् र सुखी होस् । भविष्यको सन्तति झन् बढी सुरक्षित र सुखी होउन भन्ने चाहना आफ्नो रहेको बताए ।