सिमेन्ट मूल्यवृद्धिबारे मन्त्री भण्डारीको जवाफः उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?

काठमाण्डु टुडे २०८१ चैत ४ गते १६:११ मा प्रकाशित

काठमाण्डू, ५ चैत– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताएका छन ।

आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको बैठकपछि उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन ।

उनले सरकारसँग भएको सहमति विपरीत सिमेन्टको भाउ लिनेलाई कारबाही गर्ने बताएका छन । उनले समिति बैठकमा सिमेन्ट उद्योगी र सांसदहरूबीच सिमेन्टको भाउबारे चर्काचर्की भएको थियो । सिमेन्ट उद्योगीले धम्कीपूर्ण भाषा प्रयोग गरेपछि सांसदहरू आक्रोशित समेत बनेका थिए ।

बैठकमा निर्माण व्यवसायीहरूले सिमेन्ट उद्योगीले अस्वाभाविक भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका थिए । ‘दुवै पक्षलाई मिलाएर लानुपर्ने छ,’ बैठकपछि उद्योगमन्त्री भण्डारीले भने, ‘उद्योगमन्त्री उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’ सिमेन्टको भाउ वृद्धिबारे मन्त्रालयमा सरोकारवालासँग ५–६ पटक छलफल भएको पनि बताएका छन । ‘दुवै पक्षले मन्त्रालयको पहिलो बैठकमा हामी आफै मिलाउँछौं भनेर बैठक आधा घण्टामा सकिएका थिए,’ उनले भने ।

‘हामीले अध्ययन कार्यदल पनि बनाएको हो । कार्यदलले अबको एक सातादेखि १० दिनभित्र सिमेन्ट उत्पादन लागतबारे यथार्थ सार्वजनिक गर्ने छ,’ उद्योगमन्त्री भण्डारीले भने, ‘‘सरकारको प्राथमिकता भनेको नीतिमा भएको जटिलता हटाउने हो, वस्तुको मूल्य त बजारले नै निर्धारण गर्छ ।’

साउन महिनामा प्रत्येक वर्ष प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सयोजकत्वमा हरेक जिल्लामा मूल्य निर्धारण समिति बनाउने गरिएको छ । अहिलेको मूल्य निर्धारण साउन महिनामै भएको थियो मन्त्री भण्डारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us