गणतन्त्रवादी मिलेर राजावादीको प्रतिकार गर्छौंः नारायणकाजी

काठमाण्डु टुडे २०८१ फागुन २९ गते १२:५२ मा प्रकाशित

दोलखा, २९ फागुन– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको बताएका छन् ।

पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टर दोलखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले व्यवस्थाविरोधी शक्तिविरुद्ध गणतन्त्रवादी शक्तिसँग मिलेर प्रतिवाद गर्ने तयारीमा आफूहरु रहेको बताए ।

यद्यपि आफूहरुले लोकतान्त्रिक उपलब्धीहरु खोस्ने र अपहरण गर्न चाहने प्रवृत्ति निर्णायक बिन्दुमा पुगिसक्यो भन्ने निस्कर्षसहित हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान नरोकिएको दाबी उनको थियो ।

‘लोकतान्त्रिक आन्दोलनको उपलब्धी खोस्ने प्रयत्न पहिलेभन्दा सुनियोजित र व्यवस्थित रूपमा बढिरहेको छ भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने, ‘त्यसैले हामीले संसदभित्रको भूमिकालाई पनि प्रभावकारी बनाउनुपर्यो, र राष्ट्रिय राजनीतिको हस्तक्षेपलाई पनि केन्द्र भागबाट अगाडि बढाउनुपर्छ भनेर केही दिनको कार्यक्रममा फेरेको हो । हामी तुरुन्तै अभियानलाई निरन्तरता दिन्छौँ ।’

सरकारले अलोकप्रिय काम गरेका कारण राजावादीहरूले सक्रियता बढाउने मौका मिलेको दाबी गरे । वर्तमान सरकार भ्रष्टाचारमा केन्द्रित रहेको तथा लोकतन्त्र, देश र जनताको हितमा नरहेको आरोप लगाए ।

श्रेष्ठले भ्रष्टाचार रोक्न र मुलुकको विकास गर्न जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसदलाई मन्त्री नबनाउने प्रणालीमा जानुपर्ने तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us