काठमाण्डू, २८ फागुन– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्व मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भनेर धारणा राखेपछि लफडा भएको छ ।
सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति व्यक्त गरेका हुन । श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए । त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे । तर, सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन् ।
सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो । उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए ।
तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख घिमिरेले हटाउन निर्देशन दिएनन् । सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’
सभामुखले धेरै आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेपछि अहिले सदन चलिरहेको छ । सांसद श्रेष्ठले काठमाण्डू जिल्लाको क्षेत्र नं ६ मा पर्ने तारकेश्वर ९ मा रहेको नेपाल सरकारको जग्गा कित्ता नम्बर ६३ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको गुनासो रहेको बताएकी थिइन् । स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको श्रेष्ठले बताएकी थिइन ।