काठमाण्डू, २७ फागुन– नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद् राजेन्द्र पाण्डेले राजावादीहरुको प्रदर्शनमा भारत उत्तर प्रदेशका मुख्ममन्त्री योगी आदित्यनाथको तस्बिर बोकिएकामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पाण्डेले त्यसलाई आफ्नो दलले गम्भीर रुपमा लिएको बताए । आइतबार पोखराबाट काठमाण्डू आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उत्रिएका राजावादी समूहको जुलुसमा आदित्यनाथको तस्बिर अंकित पोष्टर प्रयोग भएको थियो । ‘पूर्वराजाको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथको तस्बिर बोकेको देखियो । यो उनकै सहमतिले हो कि के हो ? यसले गम्भीर परिस्थितिको संकेत गरेको छ’, उनले भने ।
पाण्डेले हजारौंको बलिदानीबाट प्राप्त गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध आफ्नो दल उभिने बताए । ‘एकीकृत समाजवादी संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी हो । हामी यसविरुद्धको गतिविधिको विपक्षमा हुन्छौं’ उनले भने, ‘गणतन्त्र हामीले रगतसँग साटेर ल्याएको हो । कसैले बक्सिसमा दिएको होइन ।’
जन्मिने बित्तिकै राजा हुने प्रणाली मास्न आफूले व्यक्तिगत जीवनमा पनि साढे ६ वर्षभन्दा बढी जेल, तीनवटा राजाका पालामा तीनैपटक राजकाज मुद्धा ब्यहोरोको, हजारौंले जेल बसेको उनले बताए ।
पाण्डेले राजावादी सल्बलाउने र राजाको पक्षमा उभिने आँट आउनुमा वर्तमान सत्तारुढ दलहरुको गतिविधि जिम्मेवार रहेको उनको भनाइ थियो । उनले देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको र भ्रष्टाचारमा संलग्न आफ्ना मानिसलाई जोगाउने र अरुलाई मात्र फसाउन खोज्ने प्रवृत्ति बढेकाले जनताको असन्तुष्टि बढेको उनले बताए ।
‘भ्रष्टाचार संस्थागत हुँदै गएको छ । भ्रष्टाचारका एकपछि अर्का घटनामा मन्त्री सचिव, उच्चपदस्थ कर्मचारी, सरकारद्वारा नियुक्त व्यक्तिहरु संलग्न हुँदै गएका छन् । रवि लामिछानेर्लाइ झण्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै विभिन्न जिल्ला घुमाउँदै हिंडाइयो । काँगे्रस उपसभापति, एमालेका सांसद् र उनकी श्रीमतीलाई कुनै कारबाही भएन । लुम्बिनीका सांसद् कोशीका मन्त्री, काँग्रेसकै सांसद् बाँसबारी छालाजुत्ता कारखाना हडप्न सक्ने, काँग्रेस परिवारकै व्यक्तिबाट बालमन्दिरको जग्गा बिनाटेण्डर व्यापाररिक घरानालाइ सुम्पियो । रवि लामिछानेर्लाइ मुद्धा नचल्ने अरुलाई चल्ने स्थिति देखियो । सत्ताभित्रकालाई एउटा कानून, सत्ताबाहिरकालाई अर्को कानून काून । अर्थतन्त्र आरालो लाग्दा भ्यूटावार, मन्त्री निवास, धरहरामा राज्य कोषको पैसा खर्च भयो, खाद्यान्नमा परनिर्भरता बढ्यो । सार्वजनिक ऋण बढ्यो, राष्ट्रिय गौरवका आयोजना अघि बढन सकेन । आर्थिक रुपमा देश देश ग्रे जोनमा सूचीकृत भयो । आइकाओले नेपालको हवाई क्षेत्रलाई काालोसूचीमा राखेको छ । यसले गर्दा जनतामा उत्पन्न असन्तुष्टिलाई राजावादीहरुले क्यास गर्न खोजेका छन्’, उनले भने ।
रोम जलिरहँदा राजा निरो बाँसुरी बजाएर बसिरहेको जस्तो अवस्थामा प्रधानमन्त्री केपी ओली रहेको उनले आरोप लगाए ।
सत्ताधारीहरुको अकर्मण्यताका कारण लाखौंको बलिदानले आएको गणतन्त्रमाथि प्रश्न उठेको भदै उनले जनतातिर फर्किएर संविधान कार्यान्यवन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासनमा ध्यान दिन आग्रह गरे ।