काठमाण्डू, २७ फागुन– एमाले सचिव गोकर्ण विष्टले लोकतन्त्रको डुंगा प्वाल पार्न खोज्दा सरकार मात्र नडुब्ने कुरा हेक्का राख्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै मंगलबार उनले गणतन्त्रवादी सबै डुब्ने टिप्पणी गरे । सबै समस्याको जिम्मेवारी वर्तमान केपी ओली सरकारले मात्र लिन नसक्ने उनको भनाइ थियो ।
‘देशमा बेरोजगारी बढेको छ, देशमा निराशा पनि पैदा भएको छ । आज सुशासनका मामिलामा केही प्रश्नहरू पनि पैदा भएका छन्’, उाले भने, ‘तर यी सबै कुराको जिम्मेवारी सात÷आठ महिने सरकारको काँधमा मात्रै राखेर समग्रतामा के उहाँ उम्कन मिल्छ ? आज गणतन्त्र र लोकतन्त्रलाई सफल बनाउन चाहने शक्तिहरू हामी एउटै ढुंगामा यात्रा गरिरहेका छौं । आज हामी एकातिर एउटै डुंगामा यात्रा गरिरहेका छौं । तर अर्कोतिर यात्रा गरिरहेको डुंगामा प्वाल पार्नुभयो भने केवल सरकारमा रहने दलहरू मात्रै डुब्ने छैनन् । सबै डुब्नुपर्छ भन्ने कुरालाई उहाँले हेक्का राख्नुपर्छ,’ विष्टले भने ।
गणतन्त्र प्राप्तिपछि पटकपटक सरकारको नेतृत्व गरेका प्रचण्डले वर्तमान सरकारका कारण जनतामा असन्तुष्टि बढ्यो भन्न नमिल्ने तर्क विष्टको थियो । ‘राम्रा काम भएका छन् भने त्यसको जस पनि लिनुपर्छ । यदि कहीँ कतै कमजोरी भएका छन् भने त्यसको अपजस पनि लिनुपर्छ,’ उनले भने ।
जिम्मेवार पार्टी पार्टी र नेताको हैसियतले जिम्मेवार रुपमा प्रस्तुत हुने उनले आग्रह गरे । प्रचण्डका अभिव्यक्तिले राजावादी शक्तिलाई फाइदा पुग्ने आरोप विष्टले लगाए ।
‘मर्यादित हुन सक्नुहुन्न भने संविधानको मर्यादाभित्र रहेर उहाँले आफ्ना अभिव्यक्तिहरू दिन सक्नुहुन्न भने कतै यस प्रकारका अभिव्यक्ति र व्यवहारले गणतन्त्र विरोध गर्न चाहने शक्तिहरूलाई, संविधानको उल्लंघन गर्न चाहने शक्तिहरूलाई प्रोत्साहित त गरिरहेको छैन ? आज यो प्रश्न उठिरहेको छ,’ उनले भने, ‘आज यसको पनि हामीले गम्भीरताका साथ समीक्षा गर्नुपर्नेछ ।’