काँग्रेस, एमाले र माओवादीबीच संवाद र सहकार्य हुनुपर्छः गगन थापा

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, २७ फागुन–कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले संविधान र व्यवस्थाविरुद्ध भइरहेका गतिविधि रोक्न काँग्रेस, एमाले र माओवादीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै थापाले परिवर्तनका पक्षमा रहेका दलहरुबीच संवाद र सत्कार्य हुनुपर्ने बताए ।

‘परिवर्तनका पक्षमा रहेकाहरू संवाद र सत्कार्यबाट हामीसँगै बाँधिने अवस्था बनाउन सकिन्छ,’ थापाले भने, ‘यो संविधान जोगाउने र कुनै पनि षड्यन्त्रका विरूद्धमा एमाले, माओवादी र अरू दलसँग कांग्रेस दृढ भएर उभिने प्रतिबद्धता दोहोर्‍याउँछु । यो संविधान जोगाउने कुरामा, संवैधानिक संस्था जोगाउने कुरामा, यसलाई ठिक ढंगले लैजाने कुरामा हामी सबैका बीचमा समझदारी हुनैपर्छ ।’

थापाले सरकारमाथि प्रश्न र आलोचना गरे पनि घृणा नफैलाउन आग्रह गरे । कुनै पनि व्यक्तिबारे घृणा फैलाउने काम गर्न नहुने उनको भनाइ थिया ।
‘प्रश्न गरौं, आलोचना गरौं तर घृणा फैलाउने काम नगरौं । कुनै व्यक्तिका बारेमा यसरी पनि घृणा नफैलाऔं कि त्यो घृणाले हामी सबैलाई लिएर जान्छ । त्यसैले संसदभित्र र बाहिर प्रतिस्पर्धा सभ्य र सुसूचित बहस गरौं’, उनले भने ।

सरकारले पनि अहंकार नराखी प्रतिपक्षले उठाएका कुरालाई सम्बोधन गर्दै जाने अभ्यास गर्नुपर्ने थापाले बताए । थापाले सरकारले कुनै अहंकार नराखी नागरिकका असन्तुष्टि सुन्नुपर्ने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us