यो सरकारको घोडा प्रधानमन्त्रीले होइन, बिचौलियाले दौडाएका छन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १४:२२ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले नभई बिचौलियाले दौडाएको बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार बोल्दै उनले सरकारले ८ महिनामा गरेका कुनै पनि काममा प्रधानमन्त्री र मन्त्रीका स्वविवेकले निर्णय नभएको आरोप लगाए ।

उनले सरकारले ८ महिनामा गरेका राजनीतिक नियुक्ति र बनाएका नीतिहरु सबै बिचौलियाले बनाएको टिप्पणी गरे । ‘तपाईंहरुले दौडाएको दुई तिहाईको घोडा सरकारको प्रधानमन्त्री र मन्त्रीले दौडाएको होइन । त्यो घोडा बचिौलियाले दौडाएका छन्’, उनले भने, ‘एउटा मात्र नियुक्ति र एउटा मात्र निर्णय तपाईंहरुले गरेको देखाउन म चुनौती दिन्छु ।’

सत्ताको ड्राइभिङ सिटमा मन्त्री र प्रधानमन्त्री नभई बिचौलिया रहेको अराोप उनले लगाए । दुई ठूला दलको बल मिच्याईंले सरकार बन्दादेखि नै जनता झस्किएको उनले बताए ।

‘सरकारले स्वार्थ समूहको भरिया भएर उभिँदा जनताको आक्रोशको आगो बलेको छ । लोकतन्त्रविरुद्धको त्यो आगो तपाईंहरुको कुशानसको घोडाका कारण हो । दुई तिहाईको दम्भले लाखौं जनतालाई सडकमा आउने वातावरण बनाएको छ । लोकतन्त्रमाथि संकट खडा गरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us