सरकारको गतिविधिले राजतन्त्रले भूतप्रेत बनेर दुःख दिन थाल्योः सांसद् बराली

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– माओवादी केन्द्रका सांसद् रणेन्द्र बरालीले सरकारकै कारण इतिहासमा चपरी मुनि पुरिएको राजतन्त्रले सरकारकै कारण टाउको उठाउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार शून्य समयमा बोल्दै उनले अस्तुका रुपमा कात्रोमा पोको पारेर बगाएको राजतन्त्र फर्कन नसक्ने भए पनि सरकारको गतिविधिका कारण भूतप्रेत बनेर दुःख दिने मौका पाएको बताए ।

कुलमान घिसिङले नभई भारतले लोडसेडिङ अन्त्यको जस पाउने भन्ने ऊर्जामन्त्री दीपक खड्काको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।

‘ऊर्जामन्त्रीको अभिव्यक्तमा लाजले पनि लाज मान्ने ठाउँ नपाएको प्रतीत हुन्छ । जसले विद्युत महसुल उठाउने कुरामा हस्तक्षेप गर्छ । ऊसैले बक्यौता उठान नसकेकाले किन कारबाही नगर्ने भन्ने स्पष्टीकरण सोध्छ । कुलमानको क्षमातले सबैभन्दा बढी नाफा कमाएको वर्ष सरकारले शून्य मूल्यांकन गर्छ । ऊर्जामय वस्तु नेपाल ल्याउन नाकाबन्दी लगाएर रोक्ने र नेपाललाई अर्बौं नोक्सान गर्न भारतलाई लोडसेडिङ अन्त्यको स्याबासी दिने रे ?’, उनले भने, ‘सरकारका यस्तै जनघाती प्रकृतिले चपुरी मुनि पुरिएको राजतन्त्र सल्बलाई रहेको छ । कात्रोमा पोको पारेर फालिदिएको अस्तु बगाइसकेको संस्था फर्कन त सक्न त सक्दैन । भूतप्रेत बनेर दुःख दिने मौकमा पाएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us