राप्रपा नेता भन्छन्ः दुर्गा प्रसाईले ज्ञानेन्द्र ‘महाराज’ लाई डुबाउने भए

काठमाण्डु टुडे २०८१ फागुन २७ गते ११:४८ मा प्रकाशित

durga काठमाण्डू, २७ फागुन– राजावादी दल राप्रपा र राजा ल्याउने भन्दै अभियान चलाइरहेका दुर्गा प्रसाईंबीचको टकराव सतहमा देखिन थालेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग को निकट हुने भन्नेमा होडबाजी गरिरहेका राप्रपा र प्रसाईंबीचको लफडा सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको हो ।
प्रसाईंले आफनै निवासमा युटुबरहरुसँग कुरा गर्दै आफूले राप्रपासँग हात नमिलाउने बताएका छन् ।

यस्तै उनले आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाण्डू फर्कने क्रममा भएको प्रदर्शनको आयोजना आफूले गरेको बताए । माहोल बन्दै गएपछि राप्रपा डोक्सा थाप्न आएको टिप्पणी उनले गरे ।

राप्रपा कार्यकर्ताले आइतबारको जुलुपछि निर्मल निवास पस्न खोज्दा प्रसाईंलाई गेटमै छेकेपछि उनी आक्रोशित छन् । राप्रपाका एक नेताले प्रसाईंका कारण राजसंस्थाको पक्षमा बन्दै गरेको माहोल भड्किने चिन्ता व्यक्त गरे ।

‘पहिला पनि झापामा एउटा कार्यक्रममा लगेर राजाकै अगाडि बैंकको ऋण नतिर्ने भन्दै सेना नै घोषणा गरेर राजाको हुर्मत लिए, अहिले पनि महाराजालाई नोक्सान पार्ने गतिविधिमा दुर्गा छन्’, ती नेताले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us