राप्रपासँग हात मिलाउँदिन, राप्रपालाई चिन्दिनः दुर्गा प्रसाईं

काठमाण्डु टुडे २०८१ फागुन २७ गते ११:१४ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– राजावादी समूहको नेतृत्व गरेका दुर्गा प्रसाईंले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई नचिन्ने बताएका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा मंगलबार युट्युबरहरुसँक कुरा गर्दै प्रसाईंले राप्रपासँग आफूले हात नमिलाउने बताए । २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू आउँदा भएको प्रदर्शनको आयोजना आफूले गरेको दाबी उनको थियो ।

आफूले आयोजना गरेको कार्यक्रममा राप्रपा आएको उनले बताए । ‘राप्रपा भनेको मैले चिनेको छैन । मैले राप्रपासँग कहल्यिै हात मिलाउँदिन । मैले राजालाई फूला दिएको हो अरुलाई दिएको छैन’, प्रसाईंले भने, ‘राष्ट्रिय झण्डा बोकेर जुलुसमा आएका थिए । सबै नागरिकका रुपमा आएका थिए । ती सबै नागरिक हुन्, अरु कोही म चिन्दिन ।’

जुलुसले ज्ञानेज्द्रलाई विमानस्थलदेखि निर्मलनिवासम्म लगेर छाडेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता पूर्वराजाको पछिपछि निर्मलनिवास छिरे पनि प्रसाईंलाई राप्रपा कार्यकर्ताले गेटमै रोकेका थिए ।

प्रसाईंले देश बचाउन राजसंस्था अपरिहार्य भएको जिकिर गर्दै नेत्रविक्रम चन्द, प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा पनि संसद त्यागेर आए आफूले स्वागत गर्ने बताए । ‘विप्लव दाई, प्रचण्ड, केपी ओली हजुर बा, शेरबहादुर देउवासँग पनि भन्छु सबै एक भएर देश बचाऔं । राजालाई मियोका रुपमा राखौं भनेर सदन छाडेर आउनुहुन्छ भने सबैलाई स्वागत छ’, उनले भने ।

प्रसाईंले देशले पृथ्वीनारायण शाह, जंगबहादुर राणा, राजा महेन्द्रपछि दुर्गा प्रसाईं भेटेको जिकिर गरे । ‘यो देशले पृथ्वीनारायण, जंगबहादुर, राजा मेहन्द्रपछि दुर्गाप्रसाईं भेट्यो’, उनले भने ।

प्रसाईंले गणतन्त्रवादी र राजावादीबीच युद्ध हुने भन्दै देश गृहयुद्धमा प्रवेश गरेको घोषणा गरे । ‘दुर्गा मताको कसम आएर भन्छु देश गृहयुद्धमा गयो । देश बेचुवा र राष्ट्रवादी शक्तिको बीचमा लडाईं हुन्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us