काठमाण्डू, २६ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको दाबी गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाख पोखराबाट फर्कने क्रममा आइतबार काठमाण्डूमा गरिएको स्वागत कार्यक्रममा भएको जनताको उपस्थितिले राजसंस्थाको आवश्यकता पुष्टि भएको दाबी सो पार्टीको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रदर्शनमा सहभागी हुनेप्रति कृतज्ञता व्यक्त गरेको छ । बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा दलहरुलाई नवीन समझदारीमा आउन भनिएको छ ।
‘आमनागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि नवीन समझदारी गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले आवश्यक संवादको थालनी गर्न समेत सबै राजनीतिक दललाई आग्रह गरेको छ ।
पार्टीले आगामी दिनमा गर्ने आन्दोलनबारे छलफल गर्न आगामी ३ चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।