राप्रपा नेपालको मागः राजावादी र हिन्दूवादी समूहको सर्वपक्षीय मोर्चा गठन हुनुपर्छ

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १८:५१ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आन्दोलनका लागि राजावादी समूहहरुको सर्वपक्षीय मोर्चा गठनको माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सो पार्टीले केही समय एक्लाएक्लै आन्दोलन रोकेर संयुक्त रुपमा अघि बढ्नुपर्ने बेला आएको बताएको हो ।

महामन्त्री राजाराज बर्तौलाद्वारा जारी विज्ञप्तिमा राष्ट्रवादी, राजावादी, हिन्दूवादी र प्रजातन्त्रवादी र देशभक्त शक्तिहरु यथाशक्य एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न अपिल गरिएको छ ।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले सहयोगका निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेको दाबी गरेको पनि विज्ञप्तिमा छ ।

आइतबार राजधानीमा भएको प्रदर्शनले अब छिट्टै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना हुने स्पष्ट संकेत गरेको जिकिर पनि सो पार्टीले गरेको छ ।
तत्काल जनआन्दोलनको घोषणा गर्न पनि राप्रपा नेपालले सम्बद्ध सबै पक्षलाई राप्रपा नेपालको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us