राजावादी समूहमा मारामार, दुर्गा प्रसाईंलाई निर्मल निवास प्रवेशमा रोक

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १७:३७ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– आइतबार राजधानीमा राजावादी समूहले प्रदर्शन ग-यो ।

पोखरा गएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डू फर्कने क्रममा राजावादीहरुले विमानस्थलबाट निर्मल निवाससम्म पूर्वराजा ज्ञानेन्द्रलाई बीचमा राखेर प्रदर्शन गरे ।

प्रदर्शनमा पूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राप्रपा, राप्रपा नेपाल, मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूह, नेपाली सेनाबाट सेवा निवृत्त भएकाहरुको समूह, हिन्दूवादी र विगतमा दरबारबाट फाइदा लिएकाहरु सहभागी थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाभन्दा बढी फुर्तीफार्ती दुर्गा प्रसाईंको थियो । पूर्वराजा ज्ञानेन्द्र गाडीबाट टाउको बाहिर निकालेर जुलुसलाई हात हल्लाउँदै निर्मलनिवाससम्म पुगे ।

लिङदेन र कमल थापासहित अधिकांश राप्रपा नेताहरु पैदलै निर्मल निवासको गेटसम्म पुगे । तर, दुर्गा प्रसाईं गाडीमा सवार भए । उनको गाडी पूर्वराजाको भन्दा केही पछि थियो ।

पूर्वराजाले अघिअघि जसरी हात र टाउको हल्लाउँदै अभिवादन गरेका थिए । उही शैलीमा प्रसाईं पछिपछि हात हल्लाउँदै हिंडेका थिए । जब दुर्गाको गाडी निर्मलनिवास पुग्यो । तब राप्रपा कार्यकर्तालाई उनको बाटो छेके । नारा जुलस नै भएपछि प्रहरीले प्रसाईंलाई भिडबाट बाहिर निकालेर घर पठाइदियो ।

राप्रपाका एक नेताले प्रसाईंले आफूहरुको एजेण्डा खोस्न खोजेको भन्दै अध्यक्ष लिङदेन रुष्ट छन् । राप्रपाको भन्दै प्रसाईंका मानिस जुलुसमा बढी सहभागी हुने पूर्वानुमान भएपछि अध्यक्ष लिङदेनले पूर्वराजाको स्वागतमा एयरपोर्ट नजाने निर्णय लिएका थिए ।

तर, अरु नेताहरुले त्यसो गर्न नहुने भन्दै सम्झाएपछि उनी सहभागी भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us