काठमाण्डू, २६ फागुन– कांग्रेस महामन्त्री गगन थापाले सरकार र सत्तारुढ पार्टीका नेताहरुको गति र मति ठीक भए जनआक्रोक कम हुँदै जाने भएका छन् ।
कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनलाई सोमबार धनगढीमा सम्बोधन गर्दै थापाले नागरिकमा रहेको निराशा र आक्रोश देखाएर राजनीतिक रोटी सेक्ने काम भएको बताए ।
उनको संकेत पछिल्लो समय राजावादी समूह र पूर्वराजा ज्ञानेन्द्रको सक्रियतातर्फ थियो । नागरिकले सरकारबाट डेलिभरी खोजिरहेको भन्दै थापाले त्यस दिशामा काम हुनुपर्ने बताए ।
‘नागरिकहरूले केबल संशय व्यक्त गरेका हुन् । उनीहरू डेलिभरी खोजिरहेका छन्’, थापाले भने, ‘जनतालाई काम र परिणाम देखाउन नेतृत्व गर्नेहरूको मति र गति ठीक हुनुपर्छ ।’
डेलिभरीबाट आउने उत्साहले आक्रोशको आगोलाई मार्दै जाने विश्वास उनको छ । जिम्मेवारीमा रहेकाहरुले गनगन गर्ने नभई काम गर्नुपर्ने भन्दै महामन्त्री थापाले जनआक्रोशको सामान्य आगोको छेउमा बसेर घिउ खन्याउन र रोटी सेक्न खोजे पनि त्यो कर्म तुहिएर जाने टिप्पणी गरे ।