काठमाण्डू उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– आज आइतबार काठमाण्डूमा राजावादीहरुको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । काठमाण्डूको तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ ।

राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि रहेको छ । नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु समेत मर्कामा परेका छन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ । यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाण्डू फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् ।

कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरु लगायत पनि ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलको गेट अगाडि भेला भएका छन् । राजावादीहरुले काठमाण्डू उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ताहरुलाई ओसारेका छन् ।

उनीहरु राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित भएका छन् । अहिले विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरुको भिड जम्मा भएको छ । उनीहरुलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरु तैनाथ छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु खटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us