काठमाण्डू, २५ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ ।
आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाण्डू आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।
पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाण्डू फर्किरहेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि काठमाण्डू फर्किसकेको सचिवालयले जानकारी दिएको छ । उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू राजधानी फर्किने क्रममा रहेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षाका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो । यद्यपि सचिव पौडेलले राजावादीहरूको सक्रियताले केही फरक नपर्ने जिकिर गरेका छन् ।